काठमाडौं । साउदी अरबमा विवाहअघि बच्चा जन्माएको आरोपमा एक केन्याली महिलालाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ। विवाहबाहिर यौनसम्बन्ध राख्नुलाई अपराध मान्ने साउदी अरबको सरिया कानुनअन्तर्गत उनलाई यस्तो सजाय सुनाइएको हो।

४० वर्षीया एस्थर वानजा मुथोनीलाई रियादस्थित फौजदारी अदालतले गत अक्टोबरमा दोषी ठहर गरेको थियो। उनलाई १०० कोर्रा हान्ने फैसला गत महिना सुनाइएको हो।

बेलायती सञ्चारमाध्यम द गार्जियनका अनुसार मुथोनी घरेलु कामदार तथा बालबालिकाको हेरचाह गर्ने कामका लागि साउदी अरब पुगेकी थिइन्। त्यहाँ रहँदा इजिप्टका एक पुरुषसँगको सम्बन्धबाट उनी गर्भवती भएकी थिइन्। तर, गर्भवती बनाउने पुरुष त्यसपछि साउदी अरब छोडेर गएको उनले बताएकी छन्।

मुथोनी अस्पताल पुगेपछि मात्रै उनको गर्भावस्था र बच्चा जन्माएको घटना सार्वजनिक भएको थियो। अधिकारवादी समूहका अनुसार साउदी अरबमा अविवाहित महिलाले बच्चा जन्माएमा अस्पतालले सम्बन्धित सरकारी निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

खाडी क्षेत्रमा आप्रवासी कामदारको अधिकारका लागि काम गर्ने गैरनाफामूलक संस्था ‘डु बोल्ड’की संस्थापक एकातेरिना पोरास सिभोलोबोभाका अनुसार यस्ता धेरै घटना सार्वजनिक नै हुँदैनन्। अविवाहित महिलामध्ये कतिपयले घरमै बच्चा जन्माउने भएकाले ती घटनाको आधिकारिक अभिलेखसमेत नरहने गरेको उनको भनाइ छ।

अधिकारवादी समूहहरूले मुथोनीमाथि सुनाइएको सजायको कडा आलोचना गरेका छन्। उनीहरूले कोर्रा हान्ने सजायलाई हिंसात्मक र अमानवीय कार्य भन्दै यसको निन्दा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर