जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामसम्म सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेलको सोमबार औपचारिक उद्घाटन गरिएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झन्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका हुन्।

उद्घाटनपछि एक हजार एक यात्रु बोकेर रेल अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ। अयोध्यामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शुभकामना दिँदै रेललाई बिदाइ गरेका थिए।

निर्धारित समयभन्दा केही ढिलो गरी प्रस्थान गरेको रेल मंगलबार बिहान करिब ९ः३० बजे जनकपुरधामस्थित रेल्वे स्टेसनमा आइपुग्ने अनुमान गरिएको नेपाल रेल्वेले जनाएको छ।

नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेलमा विशिष्ट व्यक्तित्व, सरकारी तथा कूटनीतिक निकायका पदाधिकारी, साधुसन्त र महात्मासहित करिब एक हजार एक जना यात्रु रहेका छन्। जनकपुरधाममा करिब तीन घण्टा विश्राम गरेपछि रेल मंगलबार दिउँसो १ बजेसम्म अयोध्याका लागि फर्किने कार्यक्रम रहेको छ।

रेलको आगमनलाई विशेष बनाउन जनकपुरधाममा भव्य स्वागतको तयारी गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघको समन्वयमा यात्रुहरूको स्वागत, खानपान तथा धार्मिक स्थलको भ्रमणको व्यवस्था मिलाइएको छ।

स्वागत समारोहमा श्रममन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको विशेष उपस्थिति रहने बताइएको छ। रेल्वे स्टेसनमै स्वागतका लागि पण्डाल, स्टेज तथा बस्ने व्यवस्थासमेत तयार पारिएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहका अनुसार यात्रुहरूको स्वागतमा विभिन्न सांस्कृतिक झाँकी, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ। यसका लागि मिनाप संस्थालाई सांस्कृतिक कार्यक्रमको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, रेल्वे स्टेसनदेखि प्रसिद्ध जानकी मन्दिरसम्मको मुख्य सडक सरसफाइ गरिएको छ भने सडकका दुवै किनारमा नेपाल र भारतका राष्ट्रिय झन्डा राख्ने तयारी गरिएको छ। प्रत्येक यात्रुलाई फूलमालासहित स्वागत गरिनेछ।

पैदल हिँड्न सक्ने यात्रुहरूलाई स्वागत गर्दै जानकी मन्दिरसम्म पुर्‍याइने र हिँडडुल गर्न असहज हुने यात्रुहरूका लागि निःशुल्क सवारीसाधनको व्यवस्था गरिएको मेयर साहले बताए।

मेयर साहले अयोध्या र जनकपुरधामबीचको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई रेल सेवाले थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

यता, जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले पनि जनकपुरधामका साधुसन्तहरू रेल्वे स्टेसनमै पुगेर यात्रुहरूको स्वागत गर्ने जानकारी दिएका छन्। उनका अनुसार यात्रुहरूका लागि जानकी मन्दिरमा पूजाआराधना गर्ने विशेष व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर