वि. के. चौधरी

पर्सा। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गरिरहेको युरिया मलमध्ये दुई रेल्वे र्‍याक मल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह हुँदै नेपाल भित्रिएको छ।

साल्ट ट्रेडिङको वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख अमोज लामिछानेका अनुसार एक सातायता दुई र्‍याक मल नेपाल आइपुगेको हो। कुल ३० हजार टन युरिया मल आयात गर्ने ठेक्का ग्लोबल टेन्डरमार्फत आदित्य बिड्ला कम्पनीले पाएको छ। उक्त कम्पनीले चीनबाट मल ल्याइरहेको छ।

मल बोकेको तेस्रो रेल्वे र्‍याक भारतको आदापुर रेल्वे स्टेसनसम्म आइपुगेको र मंगलबार राति वा बुधबार बिहानसम्म नेपाल भित्रिने सम्भावना रहेको लामिछानेले बताए। दसैंअघि चारवटा र्‍याक मल आइपुग्ने अपेक्षा गरिएको उनले जानकारी दिए।

आयात हुने मलमध्ये ११ हजार ५ सय टन वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ। बाँकी मल विराटनगर र भैरहवा प्रादेशिक कार्यालयमा पठाइनेछ। भैरहवाका लागि छुट्याइएको एक र्‍याक मलसमेत वीरगन्ज आइपुगेको छ भने बाँकी मल भैरहवा नाकाबाट ट्रकमार्फत ढुवानी गरिनेछ।

हाल धानबालीका लागि मलको माग नरहे पनि आगामी हिउँदे बालीको सिजनमा यो मल उपयोगी हुने साल्ट ट्रेडिङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर