काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन टर्कीको अन्तालिया पुग्नुभएको छ।
नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। सम्मेलनको उच्चस्तरीय सत्रमा उहाँले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ।
त्यसैगरी, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीबापतको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा प्रस्तुत गर्नुहुने कार्यक्रम छ।





