बारा । खेलकुद, स्वास्थ्य र मित्रताको सन्देश फैलाउने उद्देश्यका साथ बाराको महागढीमाई नगरपालिका–५, कवही जब्दी निवासी स्वर्गीय अरुण चौधरीको स्मृतिमा प्रथम अरुण चौधरी स्मृति भेट्रान फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।

थारु भेट्रान क्लब कवही जब्दीको आयोजनामा हुने प्रतियोगिता बगडमपुर खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न स्थानका १० वटा भेट्रान फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा डुमरवाना भेट्रान, विकासशील भेट्रान सिमरा, एनजे जेभीसी सिमरा, बकुलिया भेट्रान, परवानीपुर भेट्रान, बगही भेट्रान, वीरगञ्ज युथ भेट्रान, वीरगञ्ज सिटी भेट्रान, आरम्भ भेट्रान वीरगञ्ज र आयोजक थारु भेट्रान क्लब कवही जब्दी सहभागी हुनेछन्।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार १०० रुपैयाँ र उपविजेता टोलीले १५ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

यस प्रतियोगिताको मुख्य उद्देश्य स्वर्गीय अरुण चौधरीको खेलकुदप्रतिको योगदान र सम्झनालाई जीवन्त राख्नु हो। वि.सं. २०३९ पुस ९ गते जन्मिएका चौधरीको २०८१ असोज २१ गते निधन भएको थियो। उनी आफैँ एक सक्रिय भेट्रान फुटबल खेलाडी हुनुका साथै थारु भेट्रान टोलीका संस्थापकसमेत थिए।

फुटबलप्रति अत्यन्तै लगाव राख्ने चौधरीको बकुलियामा आयोजित भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल चलिरहेका बेला खेल मैदानमै निधन भएको थियो। उक्त फाइनल खेल वीरगञ्ज सिटी भेट्रान र थारु भेट्रान क्लब कवही जब्दीबीच भइरहेको थियो। खेल मैदानमै जीवन बिताएका उनको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगिताले स्वर्गीय चौधरीप्रतिको सम्मान र श्रद्धाञ्जली व्यक्त गर्नुका साथै भेट्रान खेलाडीहरूबीच आपसी सद्भाव, भाइचारा र मित्रता अभिवृद्धि गर्ने विश्वास लिइएको छ। साथै, उमेरले खेलकुदप्रतिको उत्साह र सक्रियतालाई रोक्न सक्दैन भन्ने सन्देश नयाँ पुस्तामाझ पुर्‍याउने लक्ष्यसमेत राखिएको छ।

स्थानीय तथा आसपासका क्षेत्रका फुटबलप्रेमीलाई जोड्दै भेट्रान फुटबलको विकास र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको तयारी अघि बढाइएको आयोजकले जनाएको छ। प्रतियोगिताको मिति तथा खेल तालिकासम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।

‘खेलकुद, स्वास्थ्य र मित्रताका लागि फुटबल’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता स्वर्गीय चौधरीप्रति खेलकुद क्षेत्रले गर्ने सम्मानको रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर