बारा । बाराको करैयामाई गाउँपालिकाले ऐतिहासिक करैयामाई मेला तथा पूजाका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी मंसिर ८ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने जनाएको हो ।

गाउँपालिकाको वडा नम्बर २ करैया गाउँस्थित श्री करैयामाई मन्दिर परिसरमा परापूर्वकालदेखि लाग्दै आएको ऐतिहासिक करैयामाई मेलालाई लक्षित गरी सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

मेलाका अवसरमा धुमधाम तथा हर्षोल्लासका साथ पूजा–अर्चना गरिने भएकाले उक्त दिन गाउँ कार्यपालिकाको कार्यालय, गाउँपालिकाअन्तर्गतका सबै वडा समितिका कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

तर, स्वास्थ्य संस्थाअन्तर्गतका बर्थिङ सेन्टर भने नियमित सञ्चालनमा रहने सूचनामा स्पष्ट पारिएको छ । गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवद्वारा हस्ताक्षरित सूचनामार्फत सम्बन्धित सबैलाई सार्वजनिक बिदाबारे जानकारी गराइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर