आर.के. चौधरी
पर्सा । गर्भवती महिलामा पोषणको अवस्था सुधार गरी सुरक्षित मातृत्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा बहुसूक्ष्म पोषण (एमएमएस) कार्यक्रमसम्बन्धी पालिकास्तरीय बैठक सम्पन्न भएको छ।
मंसिर ७ गते गाउँपालिकाको सभाहलमा आयोजित बैठकमा गर्भवती महिलालाई आवश्यक पोषण सेवा प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा छलफल गरिएको थियो।
सामाजिक विकास प्रवर्द्धन केन्द्रको आयोजनामा भएको बैठकमा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतोले अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा केन्द्रकी संयोजक ममता ओझासहित स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो।
बैठकमा स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार तथा ठोरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखले एमएमएस कार्यक्रमको आवश्यकता र प्रभावकारिताबारे जानकारी गराएका थिए। उनीहरूले गर्भावस्थामा शरीरलाई आवश्यक पर्ने भिटामिन तथा खनिज तत्त्वको कमी हुन नदिन बहुसूक्ष्म पोषणयुक्त चक्कीको महत्त्वबारे प्रकाश पारेका थिए।
कार्यक्रमलाई लक्षित वर्गसम्म पुर्याउन स्थानीय सरकार, स्वास्थ्य संस्था र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका थिए। साथै पोषणसम्बन्धी जनचेतना विस्तार, सेवा प्रवाहमा सुधार तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक योजना निर्माण र समन्वयका विषयमा समेत छलफल भएको थियो।





