बारा । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा बाराका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार बाराको साविक मझरिया गाविस–६, हाल सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवले शिक्षण पेसामा प्रवेश गर्ने क्रममा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ।

यादवले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको भनिएको इन्टरमिडिएट तह अर्थात् आईएको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। अनुसन्धानका क्रममा उक्त प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ।

नक्कली प्रमाणपत्रकै आधारमा उनले प्राथमिक तहको शिक्षक पदमा नियुक्ति लिई राष्ट्रसेवक कर्मचारीका रूपमा कार्यरत रहँदै पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आरोप आयोगको छ।

अख्तियारले यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर भएको ठहर गर्दै सोही कानुनी व्यवस्थाबमोजिम कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर