बारा । बाराको करैयामाई गाउँपालिका–८ स्थित इटहर खेल मैदानमा आयोजित ‘इटहर प्रिमियर लिग (आईपीएल) सिजन–१’ क्रिकेट प्रतियोगिता भव्य समारोहका बीच सम्पन्न भएको छ। बुधबार सम्पन्न फाइनल खेलमा कबही एभेन्जर्सले उत्कृष्ट प्रदर्शन गर्दै भि नेट ११ शिरसियालाई पराजित गरी प्रतियोगिताको पहिलो संस्करणको उपाधि जित्न सफल भएको छ।
दिपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिए पनि कबही एभेन्जर्सले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।
फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको कबही एभेन्जर्सले निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको भि नेट ११ शिरसियाले लक्ष्य पछ्याउने क्रममा अपेक्षित प्रदर्शन गर्न सकेन। कबही एभेन्जर्सले ६ ओभरमै बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गर्दै शानदार जित दर्ता गर्यो।
उपाधि विजेता कबही एभेन्जर्सले नगद ११ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। विजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) करैयामाई गाउँपालिका सभापति राकेश सराफले पुरस्कार वितरण गर्नुभएको थियो।
त्यस्तै, उपविजेता भि नेट ११ शिरसियाले नगद ५ हजार ५०० रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीलाई अग्रज समाजसेवी हरिन्द्र पटेलले पुरस्कार प्रदान गर्नुभएको थियो।
स्थानीय युवाहरूमा क्रिकेटप्रतिको आकर्षण बढाउने, खेल प्रतिभाको पहिचान गर्ने तथा गाउँस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय खेलाडी तथा खेलप्रेमीहरूमा उत्साह थप्नुका साथै खेलकुदको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
इटहर क्रिकेट क्लबका अध्यक्ष जटाशंकर पटेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा रास्वपा वडा नम्बर ८ का सभापति हरिन्द्र पटेल र वडा सदस्य अब्दुल मिया धुनिया विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा उतिम पटेल, कोसलेश चौधरी, गौरीशंकर चौधरी, शिवशंकर चौधरी, रास्वपा करैयामाई गाउँपालिका उपसभापति नवलकिशोर चौधरी, पालिका सचिव राजकुमार पाल, महादेव यादव, पुन्देव पासवान, दिपेन्द्र राम, अनिल चौधरी र जोगिन्द्र पटेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुलभ कुमार रामले गर्नुभएको थियो।





