काठमाडौं । सडक दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिको उद्धार र उपचारमा प्राथमिकता दिइए पनि उनीहरूसँग रहेका नगद, मोबाइल, गरगहना तथा अन्य व्यक्तिगत सामान हराउने समस्या गम्भीर बन्दै गएको छ। दुर्घटनापछि आफन्त गुमाएका परिवारले सम्पत्तिसमेत हराएको गुनासो गर्न थालेपछि उद्धारमा खटिने निकायको जिम्मेवारी र कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।

यसको पछिल्लो उदाहरण मकवानपुरको चिसापानीगढीमा भएको दर्दनाक सवारी दुर्घटना बनेको छ। उक्त दुर्घटनामा सर्लाहीका अवधेश यादवले श्रीमतीसहित परिवारका ६ सदस्य गुमाए। एकैपटक परिवारका सदस्य गुमाएका यादवले शोककै बीच श्रीमतीको पर्समा रहेको एक लाख रुपैयाँ नगद र सुनका गरगहना हराएको गुनासो गरेका छन्।

यादवका अनुसार छठ पर्व मनाउन घर फर्किने क्रममा रहेकी श्रीमतीलाई उनले ५० हजार रुपैयाँ आफूले कमाएको र थप ५० हजार रुपैयाँ ऋण लिएर दिएका थिए। दुर्घटनापछि श्रीमतीको हातेब्याग फेला परे पनि त्यसमा राखिएको भनिएको नगद र गरगहना भेटिएनन्। घटनास्थलमा रकम भेटिएको चर्चा चले पनि त्यसको वास्तविक अवस्था सार्वजनिक नभएको भन्दै उनले निष्पक्ष छानबिन गरी सामान खोजिदिन आग्रह गरेका छन्।

पीडित यादवले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग समेत भेट गरी हराएको रकम र गरगहना खोजिदिन अनुरोध गरेका थिए। प्रहरीले भने घटनाबारे अनुसन्धान भइरहेको र फेला परेका सामानको विवरणका आधारमा वास्तविकता पत्ता लगाउने जनाएको छ।

मकवानपुर प्रहरीले दुर्घटनास्थलमा भेटिएका सामानमध्ये पहिचान गर्न सकिएका सामग्री सम्बन्धित व्यक्तिलाई बुझाइएको जनाएको छ। नगद तथा गरगहनाको विषयमा भने छानबिनमार्फत तथ्य सार्वजनिक गरिने बताएको छ।

दुर्घटनापछि यात्रुका सामान हराउने समस्या चिसापानीगढीमा मात्र सीमित छैन। विगतमा रौतहट, काठमाडौं र झापालगायतका जिल्लामा भएका दुर्घटनामा पनि घाइते तथा मृतकका मोबाइल, पर्स, नगद र गरगहना हराएको गुनासो सार्वजनिक भएका छन्। झापामा त दुर्घटनामा घाइते व्यक्तिको सुनको सिक्री चोरी गरेको आरोपमा उद्धारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउसमेत गरेको थियो।

नेपाल प्रहरीका अनुसार कतिपय दुर्घटनामा प्रहरी पुग्नुअघि नै स्थानीय तथा अन्य व्यक्ति घटनास्थलमा पुग्ने भएकाले सामान हराउने जोखिम रहन्छ। तर दुर्घटनास्थलमा फेला परेका सबै सामानको व्यवस्थित अभिलेख राख्ने र हराएका सामानको खोजीलाई निरन्तरता दिने प्रक्रिया प्रभावकारी हुन नसकेको विषय पनि उठ्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर