काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटर खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो।
काठमाडौंका लागि विलियम बोसिस्टोले सर्वाधिक ३७ रन बनाए भने भिम सार्कीले ३० रन जोडे। चितवनका रिजन ढकालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उस्मा मिरले ३ विकेट झारे भने सलाउद्दिन खान र कुशल मल्लले समान १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। चितवनका कामिल मिशराले आक्रामक ब्याटिङ गर्दै ५९ बलमा अविजित १२० रन बनाए। उनको पारीमा ५ चौका र १० छक्का सामेल थिए।
मिशराले एनपीएलमा व्यक्तिगत सर्वाधिक रनको नयाँ कीर्तिमानसमेत बनाएका छन्। यसअघि कर्णाली याक्सका मार्क वाटको नाममा रहेको ११४ रनको कीर्तिमान उनले तोडेका हुन्। उनले कप्तान रवि बोपारासँग तेस्रो विकेटका लागि १५४ रनको महत्त्वपूर्ण साझेदारी गरे। बोपाराले ५३ रन बनाए।
यस जितसँगै चितवनले प्रतियोगितामा पहिलो पटक दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। अब चितवनले बिहीबार पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।





