काठमाडौं । वैदेशिक रोजगारीको आवरणमा गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाएको तथा संगठित अपराधमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन्। त्यस्तै, तत्कालीन श्रम मन्त्रालयका सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत पदको दुरुपयोग गरी अमेरिकी डलर र बेलायती पाउन्ड ठूलो परिमाणमा मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रनाभाटसहितको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले मंसिर २ गते पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीका आधारमा उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
घटनामा विदेशी मुद्रा अपचलन र संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





