काठमाडौँ । गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै एक महिलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाका नवरत्न तामाङ, कालिकोटका छत्र बोगटी र दाङका शालिकराम न्यौपाने रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार बोगटीलाई भक्तपुरबाट तथा तामाङ र न्यौपानेलाई काठमाडौँबाट मंगलबार पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान अघि बढाएको छ। उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रवक्ता थापाले जानकारी दिए।

एक ४९ वर्षीया महिलाले आफ्नो वैयक्तिक गोपनीयता हनन भएको भन्दै सोमबार प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये दाङका शालिकराम न्यौपाने पत्रकार हुन् भने छत्र बोगटी कलाकार रहेको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर