काठमाडौँ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदबाट हटाउने सरकारी निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

कार्कीको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ।

सरकारले आफूलाई प्रहरी प्रमुखबाट हटाउने निर्णय प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत रहेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

उनले आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमा बहाली गर्न माग गरेका छन्। साथै, नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न नदिन अन्तरिम आदेश जारी गर्नसमेत माग गरेका छन्।

बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै तत्कालीन आईजीपी कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।

सरकारको उक्त निर्णयविरुद्ध कार्की अदालत पुगेपछि अब सर्वोच्च अदालतको फैसलाले उनको पुनर्बहालीसम्बन्धी विवादलाई कुन दिशा दिन्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर