काठमाडौँ । पूर्व शिक्षामन्त्री एवं नेतृ सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेपछि सक्रिय राजनीतिमा खासै नदेखिएकी श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत मेयरमा उम्मेदवारी दिने आफ्नो निर्णय सार्वजनिक गरेकी हुन्।
उनले आफूले जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा समानुपातिक सांसद निर्वाचित भएकी थिइन्। उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन्।
पार्टीको सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठले पछि रास्वपा परित्याग गरेकी थिइन्। जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार गठन प्रक्रियामा पनि उनी सक्रिय देखिएकी थिइन्।
मेयरमा उम्मेदवारी दिने उनको घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको राजनीतिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।





