काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न प्रदेशमा आंशिक बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस र लुम्बिनी प्रदेशसहित बागमती तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
त्यस्तै, बिहीबार दिउँसो कोशी र मधेस प्रदेशसहित बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।





