काठमाडौं । प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथि हुने धरपकडको विरोध गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले भइरहेका गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास तथा सञ्चारमाध्यममा अनधिकृत हस्तक्षेप भएको भन्दै महासंघले सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरेको छ।
त्यसैगरी, सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्नुपर्ने रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम नगरिएको विषयलाई महासंघले गम्भीर रूपमा उठाएको छ।
वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति सरकारले उदासीन व्यवहार देखाएको भन्दै महासंघले आफ्ना माग सम्बोधन गराउन चरणबद्ध आन्दोलनमा उत्रिने घोषणा गरेको हो।
महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार २०८३ मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने छ। मंसिर ५ गते संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने महासंघले जनाएको छ।
यसैगरी, मंसिर ९ गते जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरू भेला हुने कार्यक्रम तय गरिएको छ। उक्त भेलामा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ।
महासंघले घोषित कार्यक्रमबाट पनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको संरक्षणका लागि एकजुट हुन पत्रकार तथा सञ्चारसम्बद्ध संघसंस्थालाई आह्वान गरिएको छ।





