जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन् ।
मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम शनिबार पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख कर्णले उनको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि प्रक्रिया अघि बढाइएको उल्लेख छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आगामी मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी पेस गर्न समय दिइएको छ ।
तोकिएको समयभित्र बहुमतको आधारसहित दाबी पेस भएपछि प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।





