वि. के. चौधरी
वीरगन्ज । नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन वीरगन्ज आउने भएका छन्। कांग्रेसका सहमहामन्त्री अजय चौरसियाका अनुसार थापा छठको मुख्य दिन आइतबार साँझ काठमाडौं हुँदै सर्लाही पुग्ने कार्यक्रम छ। त्यहाँ छठघाटमा पुगेर छठीमाईको दर्शन गरेपछि उनी राति वीरगन्ज आउनेछन्।
सोमबार बिहान झिसमिसेमै थापा पत्नीका साथ वीरगन्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाट पुगेर छठीमाई तथा सूर्य भगवानको पूजापाठ र दर्शन गर्ने कार्यक्रम रहेको चौरसियाले जानकारी दिए।
पूजापाठपछि थापा काठमाडौं फर्किने कार्यक्रम छ। यसअघि पनि उनले गत वर्षको छठमा घडिअर्वा छठघाट पुगेर पूजापाठ गरेका थिए। यसैबीच, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल पनि छठ पर्व मनाउन आइतबार वीरगन्ज आउने भएका छन्।





