जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नीसहित आज जनकपुरधाम आउँदैछन्। उनी तीन दिनसम्म जनकपुरमा रहेर छठ पूजामा सहभागी हुनुका साथै धार्मिक स्थलको दर्शन र पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
रास्वपा मधेस प्रदेश कार्यालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार लामिछाने शनिबार दिउँसो जनकपुरधाम आइपुग्नेछन्। त्यसपछि जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने शुभकामना आदानप्रदान तथा सम्बोधन कार्यक्रममा सहभागी हुनेछन्।
शनिबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उनले पार्टीका नेता तथा कार्यकर्तासँग सामूहिक भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यसपछि साँझ छठ पर्वको पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन्।
भ्रमणको दोस्रो दिन आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म लामिछानेले जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर, राजदेवी मन्दिर र भूतनाथ मन्दिरलगायत धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम तय भएको छ।
त्यसैगरी, आइतबार दिउँसो ३ बजे ऐतिहासिक गंगासागरमा आयोजना हुने छठ पूजामा पनि उनी सहभागी हुनेछन्।
भ्रमणको अन्तिम दिन सोमबार बिहान ५ बजे छठ घाटमा हुने पूजा–आराधना तथा अर्घ्य अर्पण कार्यक्रममा सहभागी भएपछि उनी जनकपुर विमानस्थलबाट प्रस्थान गर्ने रास्वपा मधेस प्रदेश कार्यालयले जनाएको छ।
रास्वपा मधेस प्रदेशका महामन्त्री मनिष कुमार साहले सूचना जारी गर्दै सभापतिको भ्रमणलाई सफल बनाउन प्रदेशअन्तर्गतका सम्पूर्ण तहका पदाधिकारी, सांसद, पार्टी सदस्य तथा शुभेच्छुकलाई आवश्यक समन्वय र उपस्थितिका लागि आग्रह गरेका छन्।





