काठमाडौँ । सशस्त्र प्रहरी बलमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एक पद रिक्त भएको छ। एआईजी वंशीराज दाहाल बर्खास्तमा परेपछि उक्त पद खाली भएको हो।
दाहालको पदावधि एक वर्ष थप गर्न सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) रामशरण पौडेलले गृह मन्त्रालयमा सिफारिस गरेका थिए। तर, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति भेट्न पुगेको तथा फिक्सर इनाम सापकोटासँग सम्पर्क देखिएको आरोपमा सरकारले उनलाई बर्खास्त गरेपछि बढुवाको बाटो खुलेको हो।
दाहाल बर्खास्त भएपछि रिक्त रहेको पदमा अहिलेसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। यद्यपि, गृह मन्त्रालयका एक अधिकारीका अनुसार रिक्त पदमा बढुवा प्रक्रिया चाँडै सुरु गर्ने तयारी छ।
उक्त पदका लागि सशस्त्र प्रहरी बलका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रतिस्पर्धामा देखिएका छन्। प्रतिस्पर्धामा सुरेश श्रेष्ठ, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन्।
श्रेष्ठ हाल सीमा सुरक्षा विभागमा कार्यरत छन् भने शाह इन्टेलिजेन्स ब्युरोको नेतृत्वमा छन्। त्यस्तै, थापा सशस्त्र प्रहरी बलको एकेडेमीमा कार्यरत छन्।





