जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला उनले बहुमत जुट्ने सम्भावना नदेखिएपछि राजीनामाको घोषणा गरेका हुन्।
प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको उल्लेख गर्दै राजीनामा दिएको बताए।
सत्ता साझेदार नेकपा एमालेले गत असोज ३० गते चार मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार संकटमा परेको थियो। त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। दुवै दलको समर्थन गुमाएपछि सरकार अल्पमतमा परेको थियो।
१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री यादवलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो। तर, आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मतको प्रक्रियामा जानुभन्दा राजीनामा दिने निर्णय गरेका हुन्।
प्रदेशसभामा जसपा नेपालका २७, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
यसअघि जसपा नेपाल, एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको दाबी एमालेले गरेको थियो। जसपा नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारीस्वरूप नेकपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
तर, जसपा नेपालभित्रै मुख्यमन्त्री बन्ने विषयमा आन्तरिक विवाद देखिएपछि नयाँ सत्ता समीकरणले पूर्णता पाउन सकेको छैन। एमाले र नेकपा भने जसपा नेपालकै नेतृत्वमा सरकार गठन गर्न सकारात्मक देखिएका छन्। उता, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नयाँ सरकारमा आफ्नो पार्टी सहभागी नहुने घोषणा गरिसकेका छन्।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अब प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दललाई बहुमतको आधार प्रस्तुत गरी सरकार गठनका लागि आह्वान गर्नेछन्।





