काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा चार जनालाई नियुक्त गर्नुभएको छ। नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले उच्च अदालतमा कार्यरत चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको हो।
राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनेहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहनुभएको छ।
यसअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुभएका उहाँहरूलाई राष्ट्रपति पौडेलले आज नियुक्त गर्नुभएको हो।
नवनियुक्त न्यायाधीशमध्ये डा. बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो। त्यसैगरी सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा न्यायाधीशका रूपमा कार्यरत हुनुहुन्थ्यो।
अब नवनियुक्त चारै जना न्यायाधीशलाई प्रधानन्यायाधीश मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ। शपथपछि उहाँहरूले सर्वोच्च अदालतमा न्याय सम्पादनको जिम्मेवारी सम्हाल्नुहुनेछ।





