काठमाडौं । आइतवारदेखि देशका तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव बढ्दै गएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने देखिएको हो।
महाशाखाका अनुसार आइतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म पनि विस्तार हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्नेछ।
वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने मौसमविद्ले बताएका छन्। ठूलो पानी पर्ने सम्भावना नरहे पनि मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सम्भावित वर्षा र असिनाले खेतमा रहेको धानबाली तथा काटेर सुकाउन राखिएको परालमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्। काट्न बाँकी रहेको धान समयमै काटेर सुरक्षित स्थानमा भित्र्याउन तथा काटिसकेको धान र पराल सुरक्षित राख्न आग्रह गरिएको छ।
पश्चिमी वायुबाट विकसित हुने न्यून चापीय प्रणाली छिटो सर्ने प्रकृतिको हुने भएकाले केही समय वर्षा भएर रोकिन सक्ने मौसमविद्को भनाइ छ। असिना पनि सीमित क्षेत्रमा मात्र पर्न सक्ने अनुमान छ।
यद्यपि, हिउँदे वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने मौसमविद्हरूले बताएका छन्।
महाशाखाले मौसमको नियमित पूर्वानुमान तथा अद्यावधिक सूचनाबारे जानकारी लिएर आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।





