बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।
छठ पर्वको अवसरमा बिहीबार रास्वपाले प्रतिनिधिसभा सदस्य रहबर अंसारीको प्रमुख आतिथ्यमा आयोजना गरेको चियापान कार्यक्रमपछि पार्टीकै दुई पक्षबीच विवाद चर्किएर झडप भएको हो।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दयाकृष्ण भट्टका अनुसार चियापान कार्यक्रम सकिएर सांसद अंसारी कार्यक्रमस्थलबाट बाहिरिएपछि रास्वपा कार्यकर्ता असलम देवान र सुवास मंसुरी पक्षबीच व्यक्तिगत रिसइबी तथा आरोप–प्रत्यारोपका कारण विवाद सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि दुवै पक्षका कार्यकर्ताबीच कुटाकुट भएको प्रहरीले जनाएको छ।
झडप नियन्त्रण गर्ने क्रममा प्रहरी सहायक निरीक्षक भाग्यनारायण यादवसमेत सामान्य घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय सिमराले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
यसैबीच, झडपमा घाइते भएकाहरूको वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहेका बेला त्यहाँ पुगेका कार्यकर्ताबीच पुनः विवाद र झडपको अवस्था सिर्जना भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय श्रीपुरको टोलीले थप नौ जनालाई नियन्त्रणमा लिएको छ।
झडपमा घाइते सात जनाको हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीलाई हेल्मेटले प्रहार गरिएको र टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा सांसद रहबर अंसारी भने सम्पर्कमा आउन चाहेनन्। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।





