काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुईवटा रोमाञ्चक खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।
आज दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा काठमान्डु र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ। अंक तालिकामा दोस्रो स्थानमा रहेको काठमान्डुले पाँच खेलबाट चार जित र एक हारसहित आठ अंक जोडेको छ।
त्यस्तै, तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले ६ खेलबाट चार जित र दुई हारसहित आठ अंक प्राप्त गरेको छ। दुवै टोली समान अंकमा रहेकाले आजको खेल जित्दै अंक तालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछन्।
यसैगरी, आजै दिउँसो ४ः३० बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन्।
अंक तालिकाको पाँचौं स्थानमा रहेको चितवनले पाँच खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ। एक खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले अंक बाँडेका थिए।
यता, जनकपुर बोल्ट्स भने छैटौं स्थानमा छ। ६ खेल खेलेको जनकपुरले दुई खेलमा जित निकाल्दा चार खेलमा पराजय बेहोरेको छ।





