वि.के. चौधरी
वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधबार राति गाउँपालिकाको वडा नम्बर ३ हरिहरपुर विर्तास्थित गाउँ कार्यपालिकाको कार्यालयमा प्रवेश गरी समूहले विभिन्न शाखामा आगो लगाएको हो।
प्रहरीका अनुसार पर्खाल नाघेर कार्यालय परिसरमा प्रवेश गरेको समूहले मुख्य गेटको ताल्चा फुटाएर स्वास्थ्य, रोजगारलगायतका शाखामा आगजनी गरेको थियो।
आगजनीबाट कार्यालयका कुर्सी, टेबललगायतका फर्निचर, एसी, कम्प्युटर तथा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन्। ती शाखाका कोठाको ताल्चासमेत फुटाएर भित्र मोबिल छर्की आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालले जानकारी दिए।
बिहीबार बिहान गाउँपालिकामा कार्यरत एक जेसिबी चालक कार्यालयको मुख्य गेट खोलेर परिसरभित्र प्रवेश गर्ने क्रममा आगजनी भएको देखेपछि गाउँपालिका अध्यक्ष वशिष्ठ कलवारलाई खबर गरेका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।
सूचना पाएलगत्तै प्रहरी निरीक्षक अर्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। कार्यालयमा आगजनी गर्ने समूहको पहिचान हुन सकेको छैन। घटनामा संलग्न व्यक्ति तथा आगजनी गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





