वि. के. चौधरी
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई जिल्ला प्रशासन कार्यालय पर्साले २ लाख रुपैयाँ जरिवाना गरेको छ।
बिरयानी खाँदा खानामा साङ्लो भेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको थियो।
अनुगमनका क्रममा बिरयानी हाउसको भान्सा तथा परिसरमा सरसफाइको अवस्था कमजोर रहेको, दहीमा किरा भेटिएको र मासु सडेको अवस्थामा रहेको पाइएको थियो। खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरेको पाइएपछि सञ्चालकलाई २ लाख रुपैयाँ जरिवाना गरिएको हो।
अनुगमन टोलीले तत्काल भान्सा तथा परिसरको सरसफाइमा सुधार गर्न र खाद्य सामग्रीलाई धुलो, धुवाँ तथा किराफट्याङ्ग्राबाट सुरक्षित राख्न निर्देशन दिएको छ। साथै, आवश्यक सुधार गरी सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्नसमेत सञ्चालकलाई निर्देशन दिइएको छ।





