बारा । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुहरूको ध्यान सडक, गन्तव्य र वरपरका दृश्यमा मात्रै सीमित हुँदैन। कहिलेकाहीँ सवारीसाधनको पछाडि लेखिएका रमाइला, व्यङ्ग्यात्मक तथा जीवनोपयोगी भनाइले पनि यात्रुहरूलाई रोकिएर पढ्न बाध्य बनाउँछन्।

यस्तै एउटा रोचक सन्देश अहिले एउटा हरियो अटोको पछाडि लेखिएको देख्न सकिन्छ । अटोको पछाडिको भागमा सेतो अक्षरले लेखिएको छ, ‘सुतेर त केवल निद्रा पुग्छ, सपना पूरा गर्न त उठ्नै पर्छ।’ त्यसको तल विद्यार्थी जीवन, प्रेम, प्रेमविछोड र प्रेमीको मोटरसाइकलसँग जोडेर रमाइलो व्यङ्ग्य गरिएको छ।

त्यहाँ लेखिएको छ, ‘विद्यार्थी जीवन पछिल्लो संघर्ष, बिएफको मोटरसाइकल  छ भन्दैमा शान नदेखाऊ बैनी, ब्रेक अप  भएपछी चढ्ने अटो  नै हो।’

सामान्यतया प्रेम सम्बन्ध, प्रेमीको आर्थिक हैसियत र देखावटी रवैयालाई लक्षित गरी लेखिएको यो सन्देशले हँसाउनुका साथै सामाजिक यथार्थलाई पनि व्यङ्ग्य गरेको छ। विशेषगरी युवा पुस्तालाई लक्षित गरिएको उक्त भनाइमा प्रेम सम्बन्धमा देखिने तडकभडक र सम्बन्ध टुटेपछि आउने परिस्थितिलाई हास्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।

अहिले नेपालका विभिन्न सहर तथा ग्रामीण क्षेत्रमा चल्ने अटो, टेम्पो, बस, ट्रक, टिपर र अन्य सार्वजनिक तथा निजी सवारीसाधनमा यस्ता सन्देश लेख्ने चलन बढ्दो छ। कतै ‘आमा तिमी महान् छौ’, कतै ‘बुबाको आशीर्वाद’, कतै प्रेम र धोका त कतै जीवनका संघर्ष तथा सफलतासम्बन्धी प्रेरणादायी भनाइहरू सवारीसाधनको पछाडि देख्न पाइन्छ।

कतिपय सवारीसाधनमा लेखिएका भनाइले यात्रुलाई हँसाउँछन् भने कतिपयले गम्भीर सन्देश दिन्छन्। प्रेममा धोका खाएकाहरूका लागि व्यङ्ग्यात्मक सन्देश, विद्यार्थीका लागि मेहनतको प्रेरणा र जीवनमा संघर्ष गरिरहेकाहरूका लागि हौसला दिने शब्दहरू सवारीसाधनका पछाडि भेटिन्छन्।

सामाजिक सञ्जालको विस्तारसँगै यस्ता अनौठा तथा रमाइला भनाइ लेखिएका सवारीसाधनका तस्बिरसमेत चर्चामा आउने गरेका छन्। कतिपय चालकले आफ्नो मनको भावना व्यक्त गर्न यस्ता वाक्य लेखाउने गरेका छन् भने कतिपयले यात्रुलाई मनोरञ्जन दिन र आफ्नो सवारीलाई अरूभन्दा फरक देखाउन यस्तो शैली अपनाउने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर