वि. के. चौधरी

पर्सा  । वीरगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा प्रशोधित भटमासको तेलको निर्यात उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा पाम तेल र अन्य खाद्यतेलको निर्यात भने घटेको छ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि असोजसम्म ३० अर्ब ६२ करोड रुपैयाँ बराबरको १२ करोड ३९ लाख लिटर प्रशोधित भटमासको तेल निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको ६ करोड ७१ लाख लिटर मात्र निर्यात भएको थियो।

त्यस्तै, फलफूलको जुस र फलामजन्य सामग्रीको निर्यातमा पनि वृद्धि भएको छ। चालु आवको पहिलो तीन महिनामा २ अर्ब २० करोड रुपैयाँ बराबरको २ करोड २६ लाख लिटर जुस निर्यात भएको छ। गत वर्षको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड १२ लाख लिटर जुस निर्यात भएको थियो।

यसैगरी, फलाम तथा फलामबाट बनेका सामग्री १ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५५ लाख ९६ हजार किलो निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ६५ करोड रुपैयाँ बराबरको ५१ लाख किलो मात्रै निर्यात भएको थियो।

यता, प्रशोधित पाम तेलको निर्यात परिमाणमा भने सामान्य गिरावट आएको छ। चालु आवमा २ अर्ब ५१ करोड रुपैयाँ बराबरको ७९ लाख २९ हजार लिटर पाम तेल निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ७९ लाख ६४ हजार लिटर निर्यात भएको थियो।

त्यस्तै, अन्य खाद्यतेलको निर्यात पनि घटेको छ। चालु आवको पहिलो तीन महिनामा १ अर्ब ८० करोड रुपैयाँ बराबरको ८० लाख ७२ हजार लिटर अन्य खाद्यतेल निर्यात भएको छ। गत वर्ष सोही अवधिमा १ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ६८ लाख लिटर निर्यात भएको थियो।

वीरगन्ज नाकाबाट हुने निर्यातमा खाद्यतेलको हिस्सा ठूलो रहे पनि जुस तथा फलामजन्य सामग्रीको निर्यात बढ्नुले व्यापारिक वस्तुमा विविधता थपिँदै गएको देखिएको छ। भारतको माग, कच्चा पदार्थको मूल्य, प्रशोधन लागत तथा व्यापारिक नीतिले खाद्यतेलको निर्यातमा प्रभाव पार्ने गरेको छ।

यसरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भटमासको तेल, जुस र फलामजन्य सामग्रीको निर्यात बढ्दा पाम तेल तथा अन्य खाद्यतेलको निकासीमा भने गिरावट देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर