काठमाण्डौ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई सरकारले जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा दुई महिना थप गरेको छ। अब कम्पनीहरूले आगामी पुस मसान्तसम्म यो सुविधा लिन पाउने भएका छन्।
यसअघि विवरण अद्यावधिक गर्ने अन्तिम म्याद कात्तिक मसान्तसम्म तोकिएको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा सोभन्दा अघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ।
कार्यालयकी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको अवसर उपयोग गर्न आग्रह गर्नुभएको छ।
यसैबीच, पछिल्लो समय नेपालमा नयाँ कम्पनी दर्ता हुने क्रम पनि बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा आर्थिक वर्ष २०८२/८३ मा यो संख्या बढेर २६ हजार २९१ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच हजार ५५५ बढी हो।
रजिष्ट्रार श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको कात्तिक १२ गतेसम्म मात्रै थप १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन्।
विदेशबाट फर्किएका नेपालीले त्यहाँ सिकेको सीप, प्रविधि र आर्जन गरेको पुँजी स्वदेशमै लगानी गरी व्यवसाय सञ्चालन गर्न थालेकाले पनि कम्पनी दर्ता बढ्दै गएको श्रेष्ठको भनाइ छ।





