जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालले नवनिर्मित भवनबाट सोमबारदेखि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले विशेषज्ञ चिकित्सकसहित ३५ जना नयाँ स्वास्थ्यकर्मी थपेर सेवा विस्तार गरेको हो।
उपमहानगरपालिकाले अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउने उद्देश्यले चारतले भवन निर्माण गरेको हो। नयाँ भवनको भुइँतला तयार भएसँगै तत्कालका लागि ओपीडी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालमा एक जना सर्जन, एक जना बालरोग विशेषज्ञ र पाँच जना मेडिकल अधिकृतसहित ३५ जना स्वास्थ्यकर्मी नियुक्त गरी परिचालन गरिएको छ। यससँगै दन्त उपचार, बालरोग विशेषज्ञ सेवा, फिजियोथेरापी तथा प्रयोगशालामा एनालाइजर प्रविधिबाट परीक्षण गर्ने सुविधा पनि थपिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवनीत रौनियारका अनुसार पुरानो भवनमा बिरामीको चाप बढ्दै गएको र नयाँ नियुक्त चिकित्सकलाई सेवा प्रवाहका लागि पर्याप्त कोठा आवश्यक परेकाले नयाँ भवनबाट ओपीडी सेवा सुरु गरिएको हो। भवनबाट सेवा सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने हुन बाँकी रहेको उनले बताए।
हाड तथा जोर्नीसम्बन्धी उपचार र शल्यक्रियासमेत अस्पतालमै हुन थालेपछि स्थानीय बासिन्दाले सामान्य तथा विशेषज्ञ उपचारका लागि वीरगञ्ज र भरतपुर धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
यसैबीच, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविकुमार भास्करले नवनियुक्त स्वास्थ्यकर्मीलाई अस्पतालका समस्या पहिचान गरी सेवा सुधारमा सक्रिय हुन आग्रह गरेका छन्।





