सुनसरी । सुनसरीको धरानमा गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउन्ड हवाई फायर गर्दै पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट २१० किलो गाँजा र तस्करीमा प्रयोग गरिएका दुईवटा स्कार्पियो गाडीसमेत नियन्त्रणमा लिएको छ।

सोमबार बिहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० च्यानडाँडामा गाँजा लोड भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा प्रहरी टोली खटिएको थियो।

प्रहरी घटनास्थल पुग्दा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियोमा गाँजा लोड भइरहेको अवस्थामा फेला परेको थियो। प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीका रामसागर कुमार यादव , राजेन्द्रप्रसाद मण्डल , राजकुमार शाह , भारतको बिहारस्थित मधुबनी जिल्लाका सन्तोष ठाकुर र धरानका अमृत विशुङ्खे रहेका छन्।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईका अनुसार पक्राउ परेकाहरू गाँजा तस्करीमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूबाट २१० किलो गाँजा र तस्करीमा प्रयोग भएका दुवै स्कार्पियो बरामद गरेको छ। पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर