कोल्हवी (बारा) । बाराको कोल्हवी नगरपालिका–१ मठवा क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका २४ कार्टुन कुखुराका चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
सोमबार बिहान करिब ५ः१० बजे तामागढी सडकखण्डअन्तर्गत मठवामा सशस्त्र प्रहरी बल सुरक्षा बेस कोल्हवीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएका चल्ला बरामद गरेको हो।
सशस्त्र प्रहरी बल सुरक्षा बेस कोल्हवीका इन्चार्ज सई रामअयोध्या महतोको कमान्डमा खटिएको टोलीले तीनवटा साइकलमा ल्याइँदै गरेका २४ कार्टुन कुखुराका चल्ला नियन्त्रणमा लिएको थियो। बरामद चल्लाको अनुमानित मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको जनाइएको छ।
नियन्त्रणमा लिइएका चल्लालाई पशु क्वारेन्टाइन चेकपोस्ट मटिअर्वा, बाराबाट खटिएका प्रतिनिधि विनोद यादव, कोल्हवी नगरपालिका–१ का वडाध्यक्ष राजहरण चौधरी, अनुसन्धानका जङ्गबहादुर चौधरी, सञ्चारकर्मी तथा राजनीतिकर्मी भुवन चौधरीलगायतको रोहवरमा खाडल खनी गाडेर नष्ट गरिएको हो।





