वि. के. चौधरी

पर्सा — लामो समयदेखि औद्योगिक तथा अन्य फोहोरका कारण प्रदूषित हुँदै आएको सिर्सिया नदीको संरक्षण र प्रदूषण नियन्त्रणका लागि प्रशासन, राजनीतिक दल, स्थानीय तह तथा उद्योगीहरू एकजुट भएका छन्। नदीमा रासायनिकयुक्त फोहोर पानी मिसाउन रोक लगाउँदै उद्योगहरूलाई आफ्ना प्रशोधन केन्द्र २४ सै घण्टा सञ्चालन गर्न निर्देशन दिइएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा शनिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले नदीको प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनका लागि पाँचबुँदे निर्णय गरेको हो। बैठकमा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित विभिन्न राजनीतिक दल, उद्योगी तथा सरोकारवालाहरूको सहभागिता थियो।

बैठकले पर्सा–बारा औद्योगिक करिडोरमा रहेका सबै उद्योगलाई प्रशोधन नगरेको रासायनिकयुक्त पानी नदीमा मिसाउन पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ। प्रत्येक उद्योगले आफ्नै फोहोर पानी प्रशोधन केन्द्र चौबीसै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेछ।

त्यस्तै, व्यक्तिगत रूपमा प्रशोधन केन्द्र स्थापना गर्न नसक्ने साना तथा मझौला उद्योगका लागि उद्योग वाणिज्य संघको अगुवाइ र सरकारी अनुदानमा साझा प्रशोधन केन्द्र निर्माण गर्ने तयारी गरिने भएको छ। यसका लागि उपयुक्त जग्गा पहिचान गरी सम्भाव्यता अध्ययनसमेत गरिने निर्णय भएको छ।

नदीको दीर्घकालीन संरक्षणका लागि संघीय तथा प्रदेश सरकारसँग प्राविधिक सहयोग माग्ने र वीरगन्ज महानगरपालिका तथा आसपासका पालिकाले मुख्य ढल नदीमा मिसिन नदिन वैकल्पिक नाला निर्माण गरी ढल व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ।

यसका लागि तीनै तहका सरकारको बजेट साझेदारीमा ‘सिर्सिया नदी संरक्षण संयुक्त कोष’ स्थापना प्रक्रिया अघि बढाइने भएको छ।

आसन्न छठ पर्वलाई ध्यानमा राख्दै उद्योगबाट निस्कने फोहोर तथा अन्य वस्तु नदीमा विसर्जन नगर्न उद्योगहरूलाई आग्रह गरिएको छ। प्रशोधन केन्द्रबाट प्रशोधित सफा पानी मात्र नदीमा छोड्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ।

चार दशकभन्दा लामो समयदेखि प्रदूषणको चपेटामा परेको सिर्सिया नदीको समस्या वर्षेनी छठ पर्व नजिकिँदा चर्चामा आउने गरे पनि पर्व सकिएपछि ओझेलमा पर्ने गरेको छ। पर्सा र बाराका औद्योगिक क्षेत्रबाट निस्कने फोहोर पानी, खरानी तथा रासायनिक पदार्थ नदीमा मिसिँदा आसपासका बस्तीका बासिन्दा दुर्गन्ध र प्रदूषणबाट प्रभावित हुँदै आएका छन्।

सिर्सिया नदी भारतसम्म पुग्ने भएकाले यसको प्रदूषणले सीमापारिका बासिन्दालाई समेत असर पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर