काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उद्घाटन खेलमा सोमबार गत सिजनका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छन्।

गत संस्करणको उपाधि जितेको लुम्बिनी यसपटक पनि आफ्नो वर्चस्व कायम राख्न चाहन्छ। अर्कोतर्फ, लगातार दुई सिजन फाइनलमा पुगेर उपविजेतामा सीमित बनेको सुदूरपश्चिम पहिलोपटक उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

लुम्बिनीको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन्। दुवै खेलाडी नेपाली क्रिकेटका स्थापित नाम हुन्। रोहित र दीपेन्द्रले यसअघि एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीको पुरस्कारसमेत जितिसकेका छन्।

लुम्बिनीले यस सिजन पनि गत संस्करणका अधिकांश खेलाडीलाई निरन्तरता दिएको छ। नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेखको आगमनले टोलीको ब्याटिङ थप बलियो बनेको छ। किशोर महतोको समावेशले तीव्र बलिङमा पनि लुम्बिनीलाई थप विकल्प दिएको छ।

विदेशी खेलाडीमा लुम्बिनीले श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डी’आर्सी शर्ट र नामिबियाका रुबेन ट्रम्पलमनलाई निरन्तरता दिएको छ। यसबाहेक बंगलादेशका सामिम हुसैन र अमेरिकाका साड्ली भान स्काल्कविक पनि टोलीमा छन्।

उता, सुदूरपश्चिमले यसपटक टोलीलाई थप प्रतिस्पर्धी बनाउन नयाँ खेलाडी भित्र्याएको छ। अक्सनबाट बायाँहाते स्पिनर अनिल खरेललाई अनुबन्ध गरेको टोलीमा इंग्ल्यान्डका सैफ जैब पनि फर्किएका छन्। पहिलो संस्करणमा उत्कृष्ट खेलाडी बनेका जैब गत सिजन चितवन राइनोजबाट खेलेका थिए।

सुदूरपश्चिमको विदेशी खेलाडी सूचीमा वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड, अलराउन्डर फाबियन एलेन, न्युजिल्यान्डका स्कट कुग्लेइन र स्कटल्यान्डका ब्रान्डन म्याकमलेन छन्। कुग्लेइन लगातार तेस्रो सिजन सुदूरपश्चिमबाट खेल्दैछन्।

गत सिजनको फाइनलमा आमनेसामने भएका यी दुई टोलीबीचको उद्घाटन खेलले प्रतियोगिताको सुरुवातमै रोमाञ्चक प्रतिस्पर्धाको संकेत गरेको छ। लुम्बिनी उपाधि रक्षा गर्ने अभियानमा छ भने सुदूरपश्चिम यसपटक फाइनलको हार बिर्साउँदै च्याम्पियन बन्ने दाउमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर