काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजना प्रभावित भए पनि विद्युत् निर्यातबाट हुने आम्दानी गत वर्षको असोज र चालु आवको भदौको तुलनामा बढेको हो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको छ । यसबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

गत वर्षको असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको थियो । यस वर्षको असोजमा गत वर्षको असोजभन्दा ९६ करोड २० लाख रुपैयाँ र भदौभन्दा ८३ करोड २५ लाख रुपैयाँ बढी कारोबार भएको छ ।

प्राधिकरणका अनुसार भारततर्फ विद्युत् निर्यात द्विपक्षीय बिक्री सम्झौता तथा भारतीय ऊर्जा विनिमय बजारमार्फत हुँदै आएको छ । असोजमा निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी प्रतिस्पर्धी बजारमार्फत बिक्री गरिएको थियो ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनामा नेपालले विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

बंगलादेशतर्फको निर्यात पनि सुरु

यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि विद्युत् निर्यात रोकिएको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सञ्चालनमा आएको हो । नयाँ व्यवस्थाअनुसार सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न अनुमति दिइएको छ ।

नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गरिँदै आएको छ ।

बाढीका कारण केही आयोजना प्रभावित भए पनि वैकल्पिक आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापार विस्तारका लागि महत्त्वपूर्ण मानिएको छ । यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर