बि . के. चौधरी
वीरगञ्ज । मानव उपभोगका लागि अनुपयुक्त चोकर प्रयोग भएको पाइएपछि सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ बिस्कुटको आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्रीका लागि राखिएका बिस्कुटका सबै ब्याच फिर्ता गर्नसमेत निर्देशन दिएको छ।
विभागले आइतबार सूचना जारी गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रियागोल्ड बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति स्थगन गरेको जनाएको छ। विभागको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा नेपालले पनि आयात तथा बिक्रीमा रोक लगाएको विभागले जनाएको छ।
भारतीय नियामक निकायले गरेको निरीक्षणका क्रममा प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी ‘सूर्या फुड एन्ड एग्रो लिमिटेड’ को कारखानामा गम्भीर लापरबाही भेटिएको थियो। निरीक्षणका क्रममा गाईवस्तुको दानाका लागि प्रयोग गरिने र मानव उपभोगका लागि अनुपयुक्त भनी उल्लेख गरिएको चोकर बिस्कुट उत्पादनमा प्रयोग भएको पाइएको जनाइएको छ।
त्यस्तै, कारखानामा सरसफाइ, कीटनाशक नियन्त्रण, कच्चापदार्थ भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतासम्बन्धी व्यवस्थामा समेत कमजोरी भेटिएको बताइएको छ। त्यसपछि भारतमा कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ।
विभागले नेपालका सबै आधिकारिक आयातकर्ता तथा व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुटको बिक्री तत्काल बन्द गरी सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ। फिर्ता गरिएका बिस्कुट स्थानीय प्रशासन र विभागका प्राविधिकको रोहबरमा मुचुल्का तयार गरी नष्ट गरिनेछ।
निर्देशनको अवज्ञा गर्दै बिस्कुटको बिक्री वितरण जारी राखे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।
विभागले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आयातकर्ता, विक्रेता र सम्बन्धित व्यवसायीलाई सरकारी निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।





