शेखर चौधरी

कलैया । चाडपर्वलाई लक्षित गरी कलैया बजारमा गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेपछि दुई पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका प्रमुख सुनिल चौरसियाको नेतृत्वमा मंगलबार गरिएको अनुगमनका क्रममा विकास जेनरल स्टोर्सलाई ५ हजार र माँ अन्नपूर्ण स्वीट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो।

विकास जेनरल स्टोर्समा म्याद गुज्रिएको पशुपति टी किङ चियापत्ती र कुरकुरे पास्ता फेला परेको थियो। त्यस्तै, माँ अन्नपूर्ण स्वीट्समा मिठाई बनाउन प्रयोग हुने खिराको बियाँ र केवरा वाटर म्याद गुज्रिएको अवस्थामा भेटिएको थियो। बरामद सामग्री जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।

उक्त टोलीले जय महारानी किराना भण्डारसहित कलैयाका १० वटा पसलमा अनुगमन गरेको थियो। जय महारानी किराना भण्डारमा पनि म्याद गुज्रिएको मसला फेला परेको छ।

अनुगमनका क्रममा व्यवसायीलाई म्याद गुज्रिएका खाद्य सामग्री बिक्री नगर्न, सामानको लेबल तथा म्याद जाँच गर्न र पसलमा सरसफाइ कायम राख्न निर्देशन दिइएको कार्यालयले जनाएको छ। बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रमुख चौरसियाले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर