सत्य सरोबर संवाददाता
रौतहट । बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर केवाईसी (KYC) अपडेट गर्ने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेकाहरूले फोन तथा भिडियो कलमार्फत सेवाग्राहीलाई विश्वासमा लिई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र ओटीपी तथा बैंकिङ विवरण प्राप्त गरी खाताबाट रकम अन्यत्र स्थानान्तरण गर्ने गरेका थिए।
प्रहरीका अनुसार यसरी उनीहरूले कुल ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा भारतको बिहारस्थित सीतामढी जिल्लाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहटको गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त गौतमका अनुसार उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट एक लाख ६२ हजार २१० रुपैयाँ नेपाली नगद, तीन हजार २३६ भारतीय रुपैयाँ, सात थान मोबाइल, ११ थान सिमकार्ड, ३० थान बैंक डिपोजिट भौचर, तीन थान एटीएम कार्ड र दुई थान चेक बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, चेकबुक, डायरी, पेनड्राइभ, मेमोरी कार्ड तथा बैंकिङ विवरण लेखिएका कागजातसमेत फेला परेका छन्।
डिजिटल बैंकिङ सेवाको बढ्दो प्रयोगसँगै केवाईसी अपडेट र खाता रोक्का फुकुवा गर्ने बहानामा ठगीका घटना बढ्न थालेको प्रहरीले जनाएको छ।





