पथलैया ।  सुक्खायाममा पानीको अभावबाट वन्यजन्तुलाई जोगाउन पर्सा राष्ट्रिय निकुञ्जले थप दुईवटा आरसीसी पोखरी निर्माण गर्ने भएको छ । निकुञ्जको पूर्वी क्षेत्र र कालीदह क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न लागिएको निकुञ्ज आधाभार कार्यालयका संरक्षण तथा सूचना अधिकृत मनोज मण्डलले जानकारी दिएका छन् ।

प्राकृतिक पानीका स्रोत सुक्दै जाँदा निकुञ्जभित्रका वन्यजन्तुलाई खानेपानीको समस्या हुने गरेको छ । विशेषगरी हिउँद तथा गर्मीयाममा खोला र खहरे सुक्ने भएकाले वन्यजन्तु पानीको खोजीमा भौँतारिनुपर्ने अवस्था आउने गरेको छ ।

यस समस्यालाई ध्यानमा राख्दै निकुञ्ज प्रशासनले कृत्रिम पोखरी निर्माण तथा संरक्षणलाई प्राथमिकता दिएको छ । निकुञ्जका विभिन्न स्थानमा हालसम्म ४० वटा आरसीसी पोखरी निर्माण भइसकेका छन् । सुक्खायाममा ट्यांकरमार्फत पोखरीमा पानी भरेर वन्यजन्तुलाई खानेपानी उपलब्ध गराउने गरिएको छ ।

निकुञ्जभित्र काली, कामिनी, लौकी, हल्खोरिया र मिनी हल्खोरिया गरी पाँचवटा प्राकृतिक दह रहेका छन् । तर, प्राकृतिक जलस्रोत सीमित भएकाले वन्यजन्तुको पानीको आवश्यकता पूरा गर्न कृत्रिम पोखरी प्रभावकारी विकल्प बनेका छन् । यस वर्ष दुई नयाँ पोखरी निर्माण गर्नुका साथै पुराना र जीर्ण अवस्थामा रहेका दुईवटा आरसीसी पोखरीको मर्मतसम्भारसमेत गरिने योजना रहेको मण्डलले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर