काठमाडौं । कतारको दोहामा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज शुक्रबार बलियो प्रतिद्वन्द्वी भारत ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘बी’अन्तर्गतको उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ।

कप्तान सन्दीप लामिछानेको नेतृत्वमा मैदान उत्रने नेपाली टोलीका लागि भारत ‘ए’विरुद्धको खेल निकै चुनौतीपूर्ण हुने देखिएको छ। भारत ‘ए’सँगै नेपालले समूह चरणमा पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई)सँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ।

प्रतियोगितामा नेपालले अनुभवी तथा युवा खेलाडीलाई समेट्दै बलियो टोली मैदानमा उतार्ने तयारी गरेको छ। तर, तीव्र गतिका अनुभवी बलर सोमपाल कामी घाइते भएपछि नेपाली टोलीलाई केही धक्का लागेको छ। उनको स्थानमा लेफ्ट आर्म पेसर प्रतिश जीसीलाई मुख्य टोलीमा समावेश गरिएको छ। त्यस्तै, ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि टोलीमा राखिएको छ।

नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे, अभिषेक गौतम, प्रतिश जीसी र मयन यादव रहेका छन्।

यता, तिलक वर्माको कप्तानीमा मैदान उत्रने भारत ‘ए’ पनि निकै बलियो देखिएको छ। टोलीमा अन्तर्राष्ट्रिय क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल)को अनुभव बटुलेका खेलाडीहरूको उपस्थिति छ। कप्तान तिलक वर्मा, उपकप्तान रिंकु सिंह, अभिषेक शर्मा तथा युवा ब्याटर वैभव सूर्यवंशी भारत ‘ए’का प्रमुख खेलाडीका रूपमा रहेका छन्।

त्यसैगरी प्रभसिमरन सिंह, कुमार कुशाग्र, सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे र तनुष कोटियनजस्ता खेलाडीले टोलीलाई थप बलियो बनाएका छन्। बलिङतर्फ हर्षित राणा, प्रिन्स यादव र अर्शद खानको उपस्थिति भारतका लागि महत्वपूर्ण मानिएको छ।

बलियो ब्याटिङ र तीव्र गति तथा स्पिन बलिङको राम्रो संयोजन रहेको भारत ‘ए’विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। नेपाली टोलीका लागि सुरुवातदेखि नै कसिलो बलिङ, अनुशासित ब्याटिङ र फिल्डिङमा सुधार महत्वपूर्ण हुने देखिन्छ।

समूह ‘बी’मा रहेको नेपालले भारत ‘ए’सँगको खेलपछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। शुक्रबार बिहान ११ः४५ बजे समूहको अर्को खेलमा पाकिस्तान ‘ए’ र यूएई आमनेसामने हुँदैछन्।

आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ रहेका छन्। समूह चरणका खेल सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछन्। दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर