मकवानपुर । मकवानपुरमा प्रहरीले चेकजाँचका क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भीमफेदी गाउँपालिका–२ भैँसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा कारको डिकीभित्र लुकाएर राखिएको ११७ किलो ९१० ग्राम गाँजा फेला परेको हो।
प्रहरीका अनुसार गएराति करिब १ः४० बजे पालुङबाट भैँसेतर्फ आउँदै गरेको बीएबी ४४३१ नम्बरको कारलाई चेकजाँचका लागि रोकिएको थियो। सो क्रममा कार चालकले डिकीमा केही नरहेको बताउँदै त्यहाँबाट फरार भएका थिए।
चालक फरार भएपछि प्रहरीले कारको डिकी खोलेर जाँच गर्दा साना तथा ठूला गरी गाँजाका नौवटा पोका फेला पारेको थियो। बरामद गाँजा तौल गर्दा कुल ११७ किलो ९१० ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले फरार चालकको खोजी कार्य तीव्र बनाएको छ। बरामद गरिएको गाँजा र प्रयोग भएको कारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।
लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिको पहिचान तथा पक्राउका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





