काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता गरिएको छ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकाली पुगेर ब्यञ्जनकारविरुद्ध अनुसन्धान तथा कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्। उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गर्न माग गरेका छन्।
जाहेरीअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि नै ब्यञ्जनकारले आफ्नो ज्वागलस्थित निवासमा दुई दिनसम्म राखेको आरोप छ।
जाहेरीकर्ताका अनुसार २०२६ अक्टोबर २ अर्थात् २०८३ असोज १६ गते राति करिब ९ः१५ बजे ती मोबाइल फोन ब्यञ्जनकारको निवासमा रहेको तथ्य प्रहरीको लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी गरिएको छ।
प्रहरीमा मोबाइल फोन फिर्ता गरिएपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणका क्रममा ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा प्रयोग गरिएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको तथा सापकोटा र ब्यञ्जनकारबीच भएका केही महत्त्वपूर्ण सन्देश मेटाइएको जाहेरीमा उल्लेख छ।
प्रहरीको आधिकारिक अनुसन्धान प्रक्रियाभन्दा बाहिर रहेर अनुसन्धानसँग सम्बन्धित डिजिटल सामग्रीमा पहुँच पुर्याउनु गम्भीर विषय भएको भन्दै जाहेरीमा यसबाट अनुसन्धान प्रभावित हुनुका साथै प्रमाण नष्ट गर्ने र व्यक्तिको गोपनीयताको हक उल्लङ्घन भएको दाबी गरिएको छ।
ब्यञ्जनकारमाथि प्रहरी नियन्त्रणमा रहेको डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्याएको, प्रमाण नष्ट गरेको तथा पदीय शक्तिको दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ।
जेनजी मुभमेन्ट नेपालले जाहेरीसँगै आवश्यक प्रमाण र सञ्चारमाध्यममा प्रकाशित समाचारसमेत प्रहरीसमक्ष पेस गरेको जनाएको छ। संगठनले प्रचलित कानुनअनुसार निष्पक्ष छानबिन गरी आरोप पुष्टि भए दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेको छ।





