काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले तीनवटा महत्वपूर्ण आदेश जारी गरेको छ।

आफूलाई गैरकानुनी रूपमा आईजीपी पदबाट हटाइएको दाबीसहित कार्कीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारसहित विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

सर्वोच्च अदालतले कार्कीलाई आईजीपी पदमा पुनर्बहाली किन नगर्ने भन्दै त्यसको आधार र कारणसहित जवाफ पेस गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

अदालतको आदेशमा पहिलो विषयका रूपमा तत्काल अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिएको छ। तर, अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफलपछि मात्रै निर्णय गरिने भन्दै आगामी मंसिर ७ गतेका लागि पेसी तोकिएको छ।

दोस्रो, सर्वोच्चले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने तथा एआईजी डा. मनोज शर्मालाई आईजीपीमा बढुवा गर्ने सरकारको निर्णयसम्बन्धी प्रमाणित कागजात पेस गर्न आदेश दिएको छ। उक्त निर्णयसँग सम्बन्धित अन्य आवश्यक कागजातसमेत अदालतमा बुझाउन भनिएको छ।

तेस्रो, सर्वोच्च अदालतले मुद्दाको विषयवस्तु र प्रकृति हेर्दा शीघ्र निरूपण गर्नुपर्ने देखिएको भन्दै रिटलाई अग्राधिकार प्रदान गरेको छ। अग्राधिकार प्राप्त मुद्दालाई अदालतले प्राथमिकताका साथ सुनुवाइ गर्ने व्यवस्था छ। सर्वोच्चको यो आदेशसँगै दानबहादुर कार्कीको आईजीपीमा पुनर्बहालीसम्बन्धी विवाद थप चासोको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर