वि. के. चौधरी
वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनका नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयले प्रदर्शन गरेका छन्।
बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहका १८ दिनका छोरालाई जण्डिसको समस्या देखिएपछि गत शनिबार नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारकै क्रममा मंगलबार दिउँसो शिशुको मृत्यु भएपछि परिवार आक्रोशित बनेको हो।
शिशुको मृत्युको वास्तविक कारण सार्वजनिक गर्नुपर्ने माग गर्दै परिवारले अस्पताल प्रशासनसँग सीसीटीभी फुटेज उपलब्ध गराउन माग गरेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनीहरूको माग छ। माग पूरा नभएको भन्दै परिवार र स्थानीयले आज पनि प्रदर्शन जारी राखेका छन्।
मृतक शिशुका हजुरबुबा नरेश साहका अनुसार बच्चाको स्वास्थ्यमा सुधार आएको र डिस्चार्ज गर्ने तयारी भइरहेको बताइएको थियो। तर, स्टाफ नर्सले सुई लगाएपछि करिब पाँच मिनेटमै शिशुको मृत्यु भएको उनको दाबी छ।
उनले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाउँदै अस्पतालले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने बताए।
त्यस्तै, शिशुकी आमा नमिता साहले पनि चिकित्सकको लापरबाहीकै कारण आफूले सन्तान गुमाउनुपरेको आरोप लगाएकी छन्। चार वर्षसम्म सन्तानको प्रतीक्षा गरेपछि पहिलोपटक मातृत्वको खुसी पाएकी नमिताले अहिले आफ्नो काख रित्तिएको पीडा व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेकी छन्।
घटनापछि मृतक शिशुको परिवारले अहिलेसम्म शव बुझेका छैनन्। परिवारले सत्यतथ्य छानबिन, सीसीटीभी फुटेज उपलब्ध गराउनुपर्ने र घटनाको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने माग राखेका छन्। शिशुको मृत्युको वास्तविक कारणबारे भने आधिकारिक पुष्टि हुन बाँकी छ।





