काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्दै स्थानीयबाट जनगुनासो आएपछि प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार दिउँसो रिसोर्टमा छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको टोलीले दिउँसो करिब ३ बजे रिसोर्टमा चेकजाँच गरेको थियो।

प्रहरी चौकी पाँचखालबाट करिब तीन किलोमिटर पूर्वमा रहेको उक्त रिसोर्टमा गरिएको जाँचका क्रममा ३१ जना पुरुष र पाँच जना महिला गरी ३६ जना चिनियाँ नागरिक फेला परेका थिए।

चेकजाँचका क्रममा प्रहरीले रिसोर्टका दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ। बरामद विद्युतीय उपकरणको प्रयोग र उनीहरूको गतिविधिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

नियन्त्रणमा लिइएका सबै चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखिएको छ।

रिसोर्टमा विदेशी नागरिकहरूले के उद्देश्यले यति ठूलो संख्यामा विद्युतीय उपकरण प्रयोग गरिरहेका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूको गतिविधि र बरामद सामग्रीको प्रयोजनबारे अनुसन्धान पूरा भएपछि मात्रै थप तथ्य सार्वजनिक हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर