वि. के. चौधरी
बारा । झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको आरोपमा बाराको फेटा गाउँपालिकामा कार्यरत ओमप्रकाश गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार गिरीले नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणीको शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति प्राप्त गर्न झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए। सोही प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरेको आरोप उनीमाथि लागेको छ।
सरकारी सेवामा नियुक्ति पाउन आवश्यक शैक्षिक योग्यता प्रमाणित गर्ने क्रममा नक्कली प्रमाणपत्र पेस गरेको विषयलाई आयोगले भ्रष्टाचारजन्य कसुरका रूपमा लिएको छ। शैक्षिक योग्यताको प्रमाणपत्रकै आधारमा सरकारी पदमा नियुक्ति लिएको भन्दै आयोगले गिरीमाथि कानुनी कारबाही अघि बढाएको हो।
अख्तियारले गिरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै सोही कानुनी व्यवस्थाअनुसार सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।





