काठमाडौं । नेपाल–चीन व्यापारका प्रमुख दुई नाका तातोपानी र रसुवागढी लामो समयदेखि बन्द हुँदा चीनबाट सामान आयात गर्ने नेपाली व्यवसायी समस्यामा परेका छन्। वैकल्पिक रूपमा मुस्ताङको कोरला नाका प्रयोग गरिए पनि लामो दूरी, कमजोर पूर्वाधार र बढ्दो ढुवानी खर्चका कारण आयात सहज हुन सकेको छैन।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी नाकाअन्तर्गतका संरचनामा ठूलो क्षति पुर्याएपछि उक्त नाका बन्द भएको हो। त्यस्तै, पहिरोको जोखिम देखाउँदै चिनियाँ पक्षले भदौ १४ गतेदेखि सिन्धुपाल्चोकस्थित तातोपानी नाका पनि व्यापारिक प्रयोजनका लागि बन्द गरेको छ।
दुवै नाका बन्द हुँदा चीनबाट आयात हुने लत्ताकपडा, विद्युतीय उपकरण, मेसिनरी तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या देखिएको छ। नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीका अनुसार नाका बन्द भएपछि चीनबाट आयात हुने सामानको मूल्य करिब २० प्रतिशतसम्म बढेको छ।
उनका अनुसार तातोपानी र रसुवागढी नाका सञ्चालनमा नआउँदा व्यवसायीले ढुवानी खर्चसँगै गोदाम भाडा, कन्टेनर शुल्क, बैंक ब्याज तथा अन्य प्रशासनिक खर्चसमेत व्यहोर्नुपरेको छ। चीनतर्फ कन्टेनरमा रहेका तयारी पोसाक र मेसिनरीलगायत सामान पनि अलपत्र परेका छन्।
दुई नाका बन्द भएपछि व्यवसायीले मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएका छन्। तर पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र आवश्यक सुविधाको अभावले त्यहाँबाट सामान ढुवानी गर्न कठिन भइरहेको छ। हिमपात सुरु भएसँगै कोरला नाकाबाट हुने ढुवानीसमेत प्रभावित बनेको छ।
व्यवसायीका अनुसार तातोपानी र रसुवागढी नाका सञ्चालनमा हुँदा चीनबाट काठमाडौंसम्म सामान ल्याउन १८ देखि २० दिन लाग्ने गरेको थियो। कोरला नाका हुँदै ल्याउँदा २५ देखि २६ दिन र भारतको कोलकाता बन्दरगाह हुँदै ल्याउँदा ४५ देखि ५० दिनसम्म लाग्ने गरेको छ।
कार्कीले छोटो दूरी, समय र लागतका हिसाबले तातोपानी तथा रसुवागढी नाका नै उपयुक्त रहेको बताए। उनका अनुसार दुवै नाका बन्द हुँदा व्यापारीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ।
यद्यपि, कोरला नाकाबाट व्यापारिक कारोबार भइरहेको छ। उक्त नाकाबाट दुई महिनाको अवधिमा ८ अर्ब ६ करोड ८ लाख रुपैयाँ राजस्व संकलन भएको छ। तर कच्ची सडक, लामो दूरी र बढ्दो ढुवानी लागतले व्यवसायीलाई थप आर्थिक भार परेको छ।
नेपालले चीनबाट ठूलो परिमाणमा व्यापारिक सामान आयात गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा चीनबाट चार खर्ब २५ अर्ब रुपैयाँ बराबरका सामान आयात भएको थियो। चालु आर्थिक वर्षको असोज मसान्तसम्म मात्रै एक खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ बराबरका सामान आयात भएको भन्सार विभागको तथ्यांक छ।
चीनका ग्वाङ्जाओ, यिवु, सेनजेन, सांघाई, छेन्दु र बेइजिङ नेपाली आयातकर्ताका प्रमुख व्यापारिक केन्द्र हुन्। ती सहरबाट तयारी पोसाक, जुत्ता, झोला, मोबाइल, कम्प्युटर, मेसिनरी, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु नेपाल भित्रिने गरेका छन्।
चीनबाट हुने आयातमा निर्भर नेपाली बजारमा दुई प्रमुख उत्तरी नाका लामो समयसम्म बन्द रहँदा सामानको आपूर्ति र मूल्यमा समेत प्रत्यक्ष असर परेको छ। त्यसैले व्यवसायीले तातोपानी र रसुवागढी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरेका छन्।





