बुटवल । खसीबोकाको अङ्ग गलामा माला बनाएर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने रुपन्देहीका एक मासु व्यवसायी कारबाहीमा परेका छन्।
तिलोत्तमा नगरपालिका–२ मा आदीखोले मासु पसल सञ्चालन गर्दै आएका ऋषिराम रानाभाटले खसीबोकाको ‘राजखानी’को माला लगाएर बनाएको भिडियो टिकटक र फेसबुकमा सार्वजनिक गरेका थिए। अस्वाभाविक तथा असभ्य शैलीमा भिडियो बनाएर पोस्ट गरेपछि उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो।
घटनाबारे जानकारी पाएपछि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा अनुगमन गरिएको थियो। अनुगमनपछि व्यवसायी रानाभाटलाई सचेत गराउँदै १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको नगर प्रमुख रामकृष्ण खाँणले जानकारी दिए।
नगर प्रमुख खाँणका अनुसार रानाभाटले आफ्नो गल्ती स्वीकार गर्दै जरिवाना तिर्ने र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्।
नगरपालिकाले मासु पसल सञ्चालन गर्दा खाद्य स्वच्छता तथा निर्धारित मापदण्ड पालना गर्न निर्देशन दिँदै जनस्वास्थ्यमा असर पुग्ने र व्यवसायको मर्यादाविपरीतका गतिविधि नगर्न चेतावनी दिएको छ।
यसअघि पनि उक्त घटनालाई लिएर मासु व्यवसायी संघ रुपन्देहीले अनुगमन गरी रानाभाटलाई जरिवाना गरेको थियो। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको गतिविधिप्रति व्यापक असन्तुष्टि व्यक्त भएको थियो।





